सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौँ | सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका १ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका ८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका १ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत् दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!