ट्राफिक प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौँ | सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मरिन गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङ छन्।

शनिबार राति शंखमुलमा चेकजाँचमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरी हातपातमै उत्रिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए।

डिएसपी बुढाथोकीका अनुसार घिसिङ बा.३७ प ६४३२ को स्कुटरमा आएका थिए। प्रहरीले चेकजाँच गर्न खोजेपछि उनी अपशब्द प्रयोग गरी गालीगलौजमा उत्रिएका थिए। मापासे गरेर आएका उनी वादविवादपछि हातपातमै उत्रिएका थिए। 

'ड्युटीमा खटिएका प्रहरीको  पोसाक नै च्यातिदिएका रहेछन्,' डिएसपी बुढाथोकीले भने। 

उनलाई तत्काल प्रक्राउ गरी बानेश्वर वृत्तमा राखिएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको उनले बताए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!