सुन तस्करी: विमानस्थल को भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली रहेको पुष्टि

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ (पूर्व विवरण) नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो ।

हङकङले उक्त जानकारी भन्सार विभागलाई दिएको छ । “तस्करहरूले जुन एयर वे बिल भन्सारमा बुझाएका थिए, बिल र त्यहाँ भएको विवरण नक्कली भएको हङकङ भन्सारले जानकारी दिएको छ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने ।

गएको साउन २ गते अवैध रूपमा ल्याइएको करिब ६१ किलो सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सुमा राखी तस्करले सुन भित्र्याएका थिए । पछि सुन गाल्दा करिब ६१ किलो निस्किएको थियो । उक्त सुनका विषयमा हङकङलाई पत्र लेखी अनुसन्धानमा सघाउन भन्सार विभागले आग्रह गरेको छ । हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

विभागले ‘लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?’ भन्दै हङकङ भन्सारलाई प्रश्न सोधेको थियो । हङकङबाट उक्त सुन नेपाल ल्याइँदा ‘मेनिफेस्टो’मा ‘लिड विथआउट ब्याट्री’ लेखिएको थियो । अरू कागजातमा ‘ब्रेक सु’ लेखिएको थियो ।

अनुसन्धानमा सघाउने वचन दिएको हङकङले विभागसँग ‘एयर वे बिल’ मागेको थियो । हवाईजहाजबाट सामान ल्याउँदा सम्पूर्ण विवरण खुल्ने कागजात नै एयर वे बिल हो । एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र त्यसबाट पत्ता लागेको विषय विभागसँग सेयर गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि विभागले एयर वे बिल हङकङ पठाएको थियो । हङकङ भन्सारले अनुसन्धानपछि ती सम्पूर्ण कागजात नक्कली भएको जानकारी विभागमा पठाएको महानिर्देशक पौडेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!