नेपाली महिलाको हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

Posted on: 12 Sep, 2023

भदौ २६, देहरादुन | उत्तराखण्डको देहरादूनमा तैनाथ भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल रमेन्दु उपाध्याय रहेका छन् ।

उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माबीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो । ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन् । देहरादुन प्रहरीका अनुसार दुईबीच प्रेम सम्बन्ध सुरु भएपछि उपाध्यायले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए । 


शर्माको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । प्रहरीले २४ घण्टाभित्र नै अपराधीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पहिले नै विवाहित रहेका उपाध्यायलाई विवाह गर्न दबाब दिएपछि शर्माको हत्या भएको प्रहरीको भनाई छ । उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको थियो ।

डान्सबारमा भेटपछि दुई जनाको अफेयर तीन वर्ष चलेको थियो । देहरादुनमा उपाध्यायको पोस्टिङ भएपछि उनलाई सँगै त्यहाँ लगेर कोठा लिएर राखेका थिए । शनिबार एक क्लबमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए ।

सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १ः३० बजे उनले कार रोकेर हथौडाले महिलाको टाउको हिर्काउन थालेका थिए । शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए ।

प्रहरीसँगको बयानमा उनले शर्मासँग आफ्नो विवाहइत्तर सम्बन्ध रहेको र उनले विवाह गर्न दबाब दिएकै आधारमा हत्या गरेको स्वीकार गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!