दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक : सीआईबी

Posted on: 13 Sep, 2023

भदौ २७, काठमाडौं | मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।


‘एलेक्सले भनेअनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको छ’, थापाले भने, ‘सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि उनले नै मिलाउने गरेको पाइएको छ ।’

आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई पनि प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइँदैछ ।

एसपी थापाका अनुसार, होटल भियनासँगै रहेको केटीबी काराओकेमा पनि तस्कर समूहका सदस्यहरु भेला हुने गरेको पाइएको छ । ‘सामान बरामद भएपछि लुकिछिपी बस्नका लागि अपार्टमेन्टको व्यवस्थापन पनि दावाले नै गरेको पाइएको छ’, थापाले भने, ‘चिनियाँलाई नेपाली नागरिक र राहदानी बनाउन सहयोग गर्नेको पनि पहिचान भइसकेको छ, खोजी गरिरहेका छौं ।’

माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहँदै आएको थियो । अनुसन्धानका क्रममा दावाको दुई पूर्वप्रहरी प्रमुखसँग पनि निकट सम्बन्ध रहेको फेला परेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!