क्यान चुनावमा चतुरको टीम तयार– उपाध्यक्षमा रोशन, सचिवमा पारस

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान) को भावि नेतृत्वका लागि भोलि चुनाव हुँदैछ । अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् भने उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौति दिने छन् ।

अहिलेसम्मको स्थितिमा चन्द निकै बलियो देखिन्छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा बाग्मती प्रदेशका अध्यक्ष पारस खड्का र क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह समूहको समर्थन उनले हासिल गरेका छन् ।


चन्दसँग प्यानल बनाउन पारस र रोशन समूहको प्रतिस्पर्धा थियो । तर, चतुरले चातुर्यतापूर्वक दुवैलाई समेटेर आफ्नो दावेदारी बलियो बनाउन सफल भए । उनले रोशन र पारस दुवैलाई पदाधिकारीमा स्थान दिन लागेका हुन् ।

चतुरले उपाध्यक्षमा रोशनलाई र सचिवमा पारसलाई समर्थन गर्नेछन् । क्यानमा कुनै पनि पक्ष–विपक्ष नरहेको भन्दै सबैलाई आफूले समेट्ने प्रयास गरेको उनले बताए ।

यसैगरी चतुरको कोषाध्यक्ष उम्मेदवार पदम खड्का हुने भएका छन् । उनी क्यानका सुर्खेत अध्यक्ष हुन् ।

चतुरको प्यानलमा पदाधिकारीका आकांक्षी प्रशान्तविक्रम मल्ल भने अटाउन सकेनन् । उनले सचिवमा पारसविरुद्ध उम्मेदवारी दिने तयारी गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!