प्रहरीको पोशाक प्रयोग गरेकोप्रति माफी माग्दै सुशान्तले हटाए भिडियो

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ | गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् ।  उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । 


उनले भनेका छन्, ‘हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यका लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौँ टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’ 

गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा देखिएकी छन् । भिडियोमा हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा रहेकी उपासनालाई जिस्काएको देखाइएको छ ।

केही अगाडि गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गरिएको एक दृश्य पनि विवादित भएको थियो । उक्त दृश्यपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति पनि जारी गर्दै भिडियोमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अनुमति अनिवार्य भनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!