नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी बहस सकियो, आजै बेलुकासम्म फैसला आउने

Posted on: 05 Dec, 2023

मङ्सिर १९, काठमाडौँ | रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा वादी/प्रतिवादी पक्षका वकिलहरूको बहस सकिएको छ । तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रूकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ चलेको थियो ।


मंगलबार मध्यान्हसम्म दुई दर्जनभन्दा धेरै वकिलहरूले बहस गरेका छन् । वादी र प्रतिवादी दुवै पक्षका वकिलहरूको बहस सकिएको अधिवक्ता मोहन शाशंकरले बताए । ‘पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूको बहस सकियो, अब त्यसमाथिको फैसलाको प्रतिक्षा छ,’ उनले भने, ‘आजै बेलुकासम्म फैसला आउँछ भन्ने लाग्छ ।’

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । मृत्यु भएका नवराज विकसहित उनका साथीहरूको शव दुई हप्तासम्म लगाएर भेरी नदी किनारबाट संकलन गरिएको थियो ।

घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सो घटना लगत्तै रूकुम पश्चिमका सांसद जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो । सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेश भएपनि सरकारले त्यो प्रतिवेदन सार्वजनिक समेत गरेन । समितिले सोती घटनामा योजनाबद्धरूपमा हत्या भएको निष्कर्ष निकालेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!