आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौँ | जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ ।

भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद् गंगा नगरकोटीले  बताइन् । देशको कर्णाली र सुदूरपश्चिमबाहेक देशका अरू भागमा चिसो बढेको उनले जानकारी दिइन । नगरकोटीले आजमात्र चिसो रहेको र भोलीदेखि भने घाम लाग्ने बताइन । उनले भनिन–‘बिहानतिर चिसो हुस्सु लाग्न सक्छ  तर दिउँसो हटेर घाम लाग्ने सम्भावना छ । हिजो अस्तिदेखि नै पातलो बादल लागिरहेकोले र आज सो भन्दा बाक्लो बादल लागेकोले चिसो बढेको हो ।’

नेपाली आकाशमा लागेको बादल यही विकास भएको नभई भारतको छत्तिसगढबाट आएको उनले बताइन् । कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भूभागमा छिटपुट वर्षा हुन सक्ने भएपनि अन्य क्षेत्रमा भने वर्षा नहुने बताइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!