रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ ।

शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भइ २०८० असोज मसान्तमा रु।१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!