ठगीसम्बन्धी मुद्दामा पोखराका वडा सदस्यसहित चार जना पक्राउ

Posted on: 09 Dec, 2023

मङ्सिर २३, काठमाडौं | पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, सोही वडाको लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!