लमजुङमा भोज खाने ३१ जना बिरामी, १ जनाको मृत्यु

Posted on: 10 Dec, 2023

मङ्सिर २४, लमजुङ | लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे । भोेज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार सामूहिक भोज खाएर गम्भीर विरामी परेका ३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ ।

‘खाना आएर फर्केको भोलिपल्टबाटै समस्या देखिन सुरु गरेकोे भए पनि आइतबार बिहानबाट उपचारका लागि अस्पताल पुर्‍याउन सुरु गरिएको थियो । अस्पताल पुर्‍याएर लगत्तै देवी परियारको मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए,’ लमजुङका सिडिओ अधिकारीले भने, ‘यो दुर्घटनको अनुसन्धान सुरु भइसकेको छ ।’

सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जनाएकोे छ ।

भोजमा प्रयोग भएको खाद्यन्नको नमूना संकलन गरिसकिएको छ । नमूना पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने र त्यहाँ पनि पत्ता नलागे काठमाठौं पठाउने सिडिओ अधिकारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!