भारतीय नागरिकले पठाएका थिए साढे ६ किलो सुन, शङ्कास्पद दुई सुडानी नागरिक पनि पक्राउ

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।


भन्सार एरिया पार गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले बताए । सरिफ मोहम्मद लासिमले आफूलाई दुबईबाट भारतीय नागरिकले सो सुन पठाएको बयान दिएका छन् । प्रारम्भिक सोधपुछको क्रममा उनले सो कुरा बताएका हुन् । तर, काठमाडौँमा रिसिभ गर्ने व्यक्तिबारे चाहिँ लासिमले खुलाएका छैनन् । उनिबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

फ्लाई दुबईको उडान एफजेड–५७३ नम्बरको उडान मार्फत उनी काठमाडौँ ओर्लिएका हुन् । त्यही विमानबाट आएका गोरखाका चन्द्र बहादुर घले बिहीबार राति १४ किलो सुन सहित पक्राउ परेका थिए ।

सरिफ मोहम्मद लासिमसँगै आएका अरू दुई जना सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुडानीलाई शङ्काको आधारमा पक्राउ गरिएको डिआइजी चन्दले बताए । सुडानी नागरिकले सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!