भारतलाई हराउन पाकिस्तानले २६० रन बनाउनु पर्ने

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि दुई सय ६० रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५९ रन बनायो । भारतका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय पाली खेले । ओपनर ब्याट्सम्यान आदर्श सिंहले ६२ रन बनाए ।


उनले ८१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनले आर्सिन कुलकणर्ीसँग ओपनिङ विकेटका लागि ३९ रनको साझेदारी गरे । कुलकणर्ी भने २४ रन बनाउँदै पेभेलियन फर्किए ।

चौथो नम्बरका ब्याट्सम्यान उदय सहरनले पनि ६० रन बनाए । भारतीय टोलीका कप्तानसमेत रहेका उदयले ९८ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । सचिन दासले ५८ रन बनाए । उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । 

भारतले अतिरिक्त रुपमा २० रन पाएको थियो । पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४६ रन खर्चिए । अमिर हसन र उबैद शाहले पनि दुई—दुई विकेट हात पारे । अर्को एक विकेट अराफत मिनहसले लिए ।

समूह ‘ए’ अन्तर्गतको खेलमा भारत र पाकिस्तानले यसअघि एक—एक खेल जितिसकेका छन् । त्यसैले आइतबारको खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!