प्रधानमन्त्री प्रचण्डद्वारा बालेनको प्रशंसा, आफूलाई उत्प्रेरणा मिलेको भनाइ

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाको पछिल्ला प्रगतिशील कार्यले आफूलाई सकारात्मक उत्प्रेरणा मिलेको बताएका छन् । आज (शुक्रबार) काठमाडौं महानगरको २९औं महानगर दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले महानगरले शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा गरेको कार्यबाट आफूलाई सकारात्मक उत्प्रेरणा मिलेको बताएका हुन् ।

‘पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

उनले महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता ढंगोललगायत सिङ्गो महानगर परिवारप्रति बधाइ ज्ञापन गरे । साथै, आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न आग्रह गरे ।

राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरले गरेको प्रयास प्रशंसनीय रहेको उनले बताए । महानगर भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । साथै, नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू सधै तत्पर रहेको पनि बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!