भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीले जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अब जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यस्तो निर्णय गरेको हो ।

बीसीसीआईले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको हो । यसअघि नै बीसीसीआईले जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘रिटायर’ घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो ।


उल्लेखनीय छ, जर्सी नम्बर १० सचिन तेन्दुलकरले प्रयोग गर्दथे । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्न्यास लिएसँगै उनले प्रयोग गर्दै आएको जर्सी नम्बर १० प्रयोग गर्न बीसीसीआईले अन्य खेलाडीका लागि बन्देज लगाएको थियो ।

जर्सी नम्बर ७ भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको हो ।

भारतीय क्रिकेट टिममा डेब्यु गर्ने कुनै पनि खेलाडीलाई उनीहरुको रोजाइका आधारमा जर्सी नम्बर उपलब्ध गराउने परम्परा छ । तर अब त्यस्ता खेलाडीलाई जर्सी नम्बर १० र जर्सी नम्बर ७ बाहेक उपलब्ध अन्य नम्बरमध्येबाट रोज्न लगाइने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!