विवाह पञ्चमीका श्रद्धालुको पाकेटमारी गर्ने १८ जना पक्राउ

Posted on: 17 Dec, 2023

पुस १, जनकपुरधाम | सीता-राम विवाह पञ्चमी महोत्सवमा सहभागी श्रद्धालुहरूको पाकेटमारी गर्ने १८ जना पक्राउ परेका छन् ।

जनकपुरधामको विभिन्न स्थानबाट १८ पाकेटमारलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । पक्राउ परेकाहरूलाई गोपाल धर्मशालाको प्रहरी युनिटमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

विशेष गरी भिडभाडको मौका छोपेर महिलाको गरगहना लुट्ने र रुपैयाँ राखिने लुगाको पाकेट काट्नेहरू पक्राउ परेको बताइएको छ ।

विवाह पञ्चमीका श्रद्धालुको सुरक्षाका लागि १३ सय बढी नेपाल प्रहरी र साढे ६ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । साथै ड्रोन क्यामेरा र सिसिटिभी क्यामेराबाट समेत प्रहरीले निगरानी गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!