रुस पुगेको १ महिनापछि ‘युद्धमा हिँडे’ भन्दै भ्वाइस म्यासेज छाडेका नेपाली युवक सम्पर्कविहीन

Posted on: 20 Dec, 2023

पुष ४, काठमाडौँ | रुसमा काम गर्न गएका युवक सम्पर्कविहीन भएको भन्दै नेपालमा रहेका आफन्त प्रहरीकहाँ पुगेका छन् । ओखलढुंगाका ३१ वर्षीय युवक गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका थिए ।

आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफन्तलाई गराएका थिए । असोज १ गते ‘युद्धमा हिँडे’ भनेर भ्वाइस म्यासेज छाडेका ती युवक सम्पर्कविहीन भएको भन्दै खोजिदिन आग्रह गर्दै आफन्त प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो पुगेका छन् ।

‘युवकले रुस जान १२ लाख रुपैयाँ बुझाएको देखिन्छ । सेनामा भर्ना हुन जान लागेकोबारे परिवारलाई केही पनि नबताएको आफन्तको कुराबाट थाहा हुन्छ’, ब्युरोका एक अधिकारीले भने ।

मंसिर २६ गते युवकका आफन्त खोजिदिन आग्रह गर्दै ब्युरो पुगेका थिए । तर, त्यसपछि उनीहरु प्रहरी सम्पर्कमा छैनन् ।

‘हामीलाई खोजिदिनु पर्‍यो भनेर निवेदन लिएर आउनुभयो । भोलिपल्टदेखि उहाँहरु सम्पर्कमा हुनुहुन्न’, ती अधिकारीले भने । उनका अनुसार ती युवकले परिवारलाई रुसी सेनामा भर्ना भएको तस्विरहरु पनि पठाएका थिए ।

अनुसन्धानका क्रममा ती युवक नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उडेको पाइएको छ । उनी कुन भिषामा रुस उडेका थिए भन्नेबारे अध्यागमन विभागले खुलाउन सकेको छैन । प्रहरीले ती युवकलाई रुससम्म पुर्‍याउने व्यक्तिको खोजी गरिरहेको छ ।

ब्युरोका अधिकारीका अनुसार ती युवक यूएईमा केही वर्ष काम गरेर नेपाल फर्किएका थिए । राम्रो पारिश्रमिक पाउने प्रलोभनमा उनी रुस पुगेको हुनसक्ने अधिकारीहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!