सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

Posted on: 21 Dec, 2023

पुस ५, काठमाडौं | आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रष्टीकरण दिएका छन् । बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ उनले उत्तेजित बन्दै भनेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!