लेवान्डोस्कीको कीर्तिमानमाथि केनको आँखा

Posted on: 21 Dec, 2023

पुस ५, काठमाडौं | इंग्ल्याण्डका कप्तान ह्यारी केन बुन्डेस लिगाको पहिलो सिजनमा नै रोबर्ट लेवान्डोस्कीले बनाएको गोलको कीर्तिमान भङ्ग गर्ने दिशामा अघि बढेका छन् । 

बिहीबार वुल्फ्सबर्गलाई २–१ गोलले हराउने क्रममा गोल गर्दै केनले यो सिजन लिगमा आफ्नो गोल सङ्ख्या २१ पुर्‍याएका हुन् ।


केनले थोमस मुलरको पासमा ४३ औँ मिनेटमा गोल गरेका थिए । लिगमा उनको यो मात्र १५ औँ खेल थियो । यो सिजन प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सबाट बायर्न पुगेका केनले सबै प्रतियोगितामा क्लबका लागि २२ खेलमा २५ गोल गर्नुका साथै ८ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।

लिगका सुरुवाती १५ खेलमा २१ गोल गर्ने उनी पहिलो खेलाडी पनि हुन् । सन् २०२०–२१ मा लेवान्डोस्कीले एकै सिजनमा लिगमा सर्वाधिक ४१ गोलको कीर्तिमान बनाउँदा १५ खेलमा २० गोल गरेका थिए ।

सन् २०२३ मा टोटनह्याम र बायर्न गरी उनले ३८ लिग गोल गरेका छन् । युरोपका शीर्ष ५ लिगमा उनी किलियान एम्बाप्पेभन्दा ४ गोलले अघि रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!