रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन थुनामा राख्न अनुमति

Posted on: 24 Dec, 2023

पुस ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार मकैको खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।

प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

‘खोया प्रहार गर्ने रानाभाटलाई शनिबार नै पक्राउ गरेर थुनामा राखेका छौं । आज प्रशासनबाट १० म्याद थप गरेका छौं । अहिलेसम्म झुक्किएर नै गएरको भनेर बयान दिएका छन् । झुक्किएको जस्तो त देखिदैँन । हामीले म्याद थप गरेर अनुसन्धान गरिरहेका छाैं’, उनले भने ।

लमजुङका सन्तोष रानाभाटले शनिबार पोखरा अंमरसिंह चौरमा चलिरहेको रास्वपाको आम सभामा बोल्दै गरेको सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका थिए । सभापति लामिछानेले युवकले प्रहार गरेको खोया आफ्नो सपना पूरा नभएसम्म घरमै सझाएर राख्ने घोषणा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!