स्वारेज मियामीमा अनुबन्धित, मेसीसँग पुनर्मिलन

Posted on: 24 Dec, 2023

पुस ८, काठमाडौं । उरुग्वेन फरवार्ड लुइस स्वारेज अमेरिकन मेजर लिग सोकर (एमएलएस) क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन्। ३६ वर्षीय फरवार्ड स्वारेज फ्रि ट्रान्सफरमा ब्राजिलियन क्लब ग्रेमियोबाट मियामी पुगेका हुन्।

मियामीमा अनुबन्धित भएसँगै आफ्ना पुराना सहकर्मी लियोनल मेसी, सर्जियो बुस्केट्स्, जोर्डी अल्बासँग उनको पुनर्मिलन भएको छ। यी सबैजना स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी हुन्।

मियामीमा अनुबन्धित भएपछि स्वारेजले भनेका छन्, ‘म मेरा महान् साथी र खेलाडीसँग फेरि सँगै हुन पाउँदा एकदमै खुसी छु।’ स्वारेजले नाकिनोल, आयाक्स, एथ्लेटिको मड्रिडमा आबद्ध भएर पनि लिग उपाधी जितेका स्वारेजले ब्राजिलियन क्लब ग्रेमियोलाई ब्राजिलियन ‘सिरी ए’ लिगको सिजन २०२३ मा दोस्रो बनाएका थिए । उनले ग्रेमियोका लागि १७ गोल गरेका थिए।

लिभरपुल तथा बार्सिलोनाका पूर्व भेट्रान फरवार्ड स्वारेजले ग्रेमियोमा रहँदा लिगकै वेस्ट प्लेअरको अवार्डसमेत जितेका छन्। स्वारेजले सन् २०२२ मा ग्रेमियोसँग दुई वर्षको सम्झौता गरेका थिए।

तर चोटका कारण उनले उक्त सम्झौता छोट्याएर एक वर्षमा झारेका थिए। स्वारेजले बार्सिलोनामा रहँदा ४ वटा ला–लिगा उपाधि जितेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!