नक्कली भिजिट भिसा प्रकरणमा समातिए कांग्रेस नेता

Posted on: 25 Dec, 2023

पुस ९, काठमाडौँ | नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने एकजना ट्राभल्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ निवासी हुन्। उनी नेपाली कांग्रेसका नेतासमेत हुन्। 


२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की मोरङ क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सांसदमा उठेका थिए। तर त्यसबेला नेकपा एमालेका लिलाबल्लभ अधिकारीसँग पराजित भए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कार्कीले नक्कली कागजातका आधारमा सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग गर्दै आएका थिए। 

कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको छ।

भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरूको शंकास्पद कागजातसहित गत असोज १७ देखि हालसम्म १ हजार ५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।

जसमा २४६ कागजातमा प्लस्टुको नक्कली प्रमाणपत्र पनि छ। यस्तै श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट पनि नक्कली पाइएको छ।

तीन कागजपत्र बनाउने व्यक्तिहरूको पहिचानका क्रममा एजेन्ट, कन्सलटेन्सी र ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजारसम्म तथा अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको अनुसन्धानले देखाएको छ।

यस प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!