२१ दिनको मात्रै सीसीटीभी फुटेज स्टोरेज विषयमा क्यानको प्रष्टीकरण- बजेट अभाव भयो (विज्ञप्तिसहित)

Posted on: 26 Dec, 2023

पुस १०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको कारण देखाएको छ ।

महाप्रबन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गर्दै सीसीटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएकाे उल्लेख गरेका छन् ।

‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपी असोज २७, २०८० बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सीसीटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र त्यो सम्पन्न हुने महाप्रबन्धक तिवारीले उनले उल्लेख गरेका छन् ।

विमानस्थलको सीसीटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उड्डयन कार्यालयले अहिलेसम्म केही सीसीटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमशः बढाइँदै लगिने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!