चुडामणि शर्माविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

Posted on: 27 Dec, 2023

पुस ११, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।


प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ । यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ । आयोगले उक्त रकम गैर कानुनी रुपमा शर्माले आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावदेन दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!