हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौं | धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए ।

उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’


केही दिनअघि साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।

उनले लेखेका थिए, ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’

मेयर साम्पाङले राज्यका निकायहरूलाई ठाडो चुनौती दिनेमात्र होइन, आफूमाथि प्रश्न उठाउनेहरूलाई धाकधम्की दिने गरेका छन् । तर, अहिलेसम्म उनका आपत्तिजनक अभिव्यक्तिहरूलाई लिएर राज्यको कुनै पनि निकायले उनलाई सामान्य स्पष्टीकरणसम्म सोधेको छैन ।

हिजो नै उनले उग्रता प्रकट गर्दै लेखेका थिए, ‘जनजाति होइन, मुलवासी भन । नत्र भेट्लास् ।’

तीन दिनअघि साम्पाङले लेखेको स्टाटस छ, ‘विकासको केन्द्रबिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनुपर्छ भन्ने केही छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!