परपुरुषसँग भाग्न लागेको देखेपछि तोरी बारीमा श्रीमतीको हत्या

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार श्रीमतीको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका रन्तबहादुरले आफ्नी श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार घरनजिकैको तोरी बारीमा घाँटीमा तुनाले कसेर हत्या गरेको खुल्न आएको छ । रत्नबहादुर र उनको श्रीमतीको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो । उनीहरुका दुई वटा बच्चा थिए । बिहीबार दिउँसो श्रीमती अर्कै केटासँग भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटिलखेटि श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

‘हामीले बच्चाहरुसँग पनि कुरा ग¥यौं । बच्चाका अनुसार भाग्ने नियतले नै हिँडेका रहेछन् । श्रीमती भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटेर हत्या गरेका रहेछन्,’ कास्की प्रहरीका एसपी थापाले भने, ‘ प्रत्यक्षदर्शीले मार्न लाग्दा भेटेर नियन्त्रणमा लिनुभएको हो, हामी जाँदा श्रीमतीको मृत्यु भइसकेको थियो ।’

रत्नबहादुरले प्रेमीसँग देखेपछि श्रीमतिसहित दुवैलाई लखेटेका थिए । प्रहरीका अनुसार लखेटेर भेटाएपछि उनले श्रीमतीको घाटी थिचेर, ज्याकेटको तुनाले हत्या गएका थिए । कास्की प्रहरी प्रमुख थापाका अनुसार रत्नबहादुर हत्या गरेको स्वीकार गरिसकेका छन् ।

‘उहाँ(रत्नबहादुर) ले हत्या गरेको स्वीकार गरिसक्नुभएको छ । फोटो भिडियो हेर्दा पनि उहाँले हत्या गरेको पुष्टि हुन्छ,’ एसपी थापाले भने ।

श्रीमती अर्कै प्रेमीसँग रहेको कुरा रत्नबहादुरलाई पहिलेदेखि नै थाहा थियो ।

प्रहरीका अनुसार रत्नबहादुरले एकपटक अर्कैसँग गएकी श्रीमतीलाई फिर्ता लिएका थिए । रत्नबहादुरले ४/५ वर्षअघि देखि पोखरामा मजदुरी गर्दै आएका थिए । उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!