सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाइने

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । गत पुस ८ गते आइतबारबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो । उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।

यो मुद्दामा गत आइतबारबाट सुनुवाइ सुरु भएको थियो । आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधबार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरेका थिए ।

बुधबार जाहेरवालीका तर्फबाट अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलियासमेत गरी आइतबारदेखि बुधबारसम्म गरी कुल १० जनाले बहस सकाएका थिए । बुधबार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले समेत बहस सुरु गरेका थिए ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित गौशाला २६ र वादी नेपाल सरकारका तर्फबाट वारदातको समयमा पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गरिएको थियो र बहस समेत सोही विषयमा केन्द्रित छ । यता प्रतिवादी सन्दीप लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर वारदातको समयमा १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

जन्म दर्ता रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट आएको जन्म मितिमा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना पुगेको कागज अदालतमा पेस गरिएको थियो । स्थानीत तहको पत्रमा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गरी काठमाडौं जिल्ला अदालतलाई पत्र पठाइएको छ ।

वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गतेको मितिमा किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको र जन्म मिति २०६२ जेठ १८ गते रहेको पीडित पक्षले दाबी छ भने आरोपित पक्षले भने किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरी वारदातको समयमान किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!