विपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

Posted on: 31 Dec, 2023

पुस १५, काठमाडौँ | परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । 

आज महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उनले भने, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेश मन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्ध विराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे ।

त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी विपिनको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ ।’ उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रूपमा अघि बढिरहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो’, मन्त्री साउदले भने, ‘परराष्ट्र नीति छिमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलित रूपमा अघि बढिरहेको छ ।’  

यस बिषयमा तपाइको प्रतिक्रिया...!