ईपीएसबारे उच्च अदालतको आदेश कोरियाले मान्छ ? आएन इमेलको जवाफ

Posted on: 31 Dec, 2023

पुस १५, काठमाडौँ | सीप बिल्डिङको भाषा परीक्षामा सहभागी भएका १८ जनालाई म्यानिफ्याक्चरका लागि पनि फर्म भर्न दिन उच्च अदालत पाटनको आदेशलाई कोरियाले रेस्पोन्स नगरेको पाइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले दक्षिण कोरियालाई केही दिनअघि इमेल पठाए पनि उताबाट कुनै जवाफ आएको छैन ।

गत पुस ५ गते उच्च अदालतले १८ जनालाई फर्म भर्ने अनुमति दिन आदेश गरेको थियो । त्यसलगत्तै ईपीएस शाखाले दक्षिण कोरियाको ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) लाई आदेशबारे जानकारी गराएको स्रोतले बतायो । तर, अहिलेसम्म जवाफ नआएको स्रोतको भनाइ छ ।

त्यसअघि ‘एचआरडी कोरियाको शर्त’ भन्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखाले सन् २०२३ मा अन्य सेक्टरमा आवेदन दिएकाले हालै म्यानिफक्याचर सेक्टरका लागि खुलाएको भाषा परीक्षाका लागि आवेदन दिन नपाउने जनाएको थियो । त्यसपछि गत असारमा सीप बिल्डिङका लागि भाषा परीक्षाका लागि आवेदन दिएर अनुत्तिर्ण भएकामध्ये १८ जनाले म्यानिफ्याक्चरका लागि आवेदन दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिए । अदालतले रिट निवेदकलाई आवेदन भर्न दिनु भन्ने आदेश गरेपछि सबैले पाउनुपर्ने भन्दै आन्दोलन चर्किएको हो ।

सीप बिल्डिङको भाषा परीक्षामा अनुत्तिर्णहरुले म्यानिफ्याक्चरको भाषा परिक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै गरेको आन्दोलनमा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो । त्यसै दिन उच्च अदालत पाटनले अर्को आदेश गर्दै म्यानिफ्याक्चरको भाषा परिक्षामा सबैलाई सहभागी गराउन भनेको छ । तर, नेपालको अदालतले ‘ब्याक टु ब्याक’ गरेको आदेश कोरियाले स्वीकार्छ भन्ने आधार अहिलेसम्म देखिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!