रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, सर्वोच्चको संयुक्त इजलासमा पेसी

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ। न्यायाधीशद्धय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको छ। क्रमसंख्याअनुसार उक्त निवेदनको पेसी ४ नम्बरमा रहेको छ। 

टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी श्रीमती कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि  पेसी तोकिएको हो। बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 


टीकापुर हत्याकाण्डमा जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाउँदै जेलमुक्त भएका थिए। रेशमलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो।  

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गर्दै माफीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।  

उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। 

उक्त रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सुनुवाइ गर्दै सरकार, राष्ट्रपति कार्यालय र गृह मन्त्रालयसमेतका विपक्षीहरुसँग रेशमको रिहाईबारे लिखित जवाफ माग गरेको थियो। 

अदालतको आदेशानुसार सबै विपक्षीबाट लिखित जवाफ पेस भएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतले माफीको बचाउ गर्दै जवाफ पेस गरेका छन्। 

सोमबार पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुने देखिन्छ। प्रतिवादीहरुको लिखित जवाफ पेस भइसकेकाले अन्तिम सुनुवाइ सुरु गर्ने अदालतलको तयारी छ। सरकारले माफी दिएपछि सर्वोच्चले सार्वजनिक गरेको पूर्णपाठमा सजायको ४० प्रतिशत समेत पुरा नगरी माफी दिनु गलत भएको भनिएको छ। 

त्यस्तै, केही समय अघि माफी पाएका रिगल भनिने योगराज ढकालको मुद्दा सर्वोच्चले उल्टाएको थियो। सर्वोच्चले उनलाई माफी दिने कार्य संविधान सम्मत नभएको भन्दै बाँकी सजाय भुक्तान गराउन आदेश दिएको थियो। हाल ढकाल बाँकी कैद सजाय भुक्तानका लागि जेलमा छन्।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!