एसिसी प्रिमियर कप चैत अन्तिम साता गर्ने तयारी

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | एसियन क्रिकेट काउन्सिल (एसिसी) ले दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता गर्ने तयारी गरेको छ।

एसिसीले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको छ। एसिसीले प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने जनाएको छ। 

आयोजकको टुंगो लागेको छैन। यद्यपी एसिसीले यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने जनाएको छ। 


प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन्। 

यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ। विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन्।

गत संस्करणको प्रिमियर कप नेपालले जितेको थियो। नेपालले घरेलु मैदानमा आयोजना भएको प्रतियोगिता जित्दै एसिया कपमा स्थान पक्का गरेको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। 

नेपालले सन् २०२४ को टी-२० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो। विश्वकपअघि नेपाललाई कपले राम्रो तयारी गर्ने अवसर मिल्नेछ। एसिसी प्रिमियर कप भएको दुई महिनापछि जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकप आयोजना हुँदैछ। 

यस्तै महिला प्रिमियर कप टी-२० प्रतियोगिता माघ २६ देखि गर्ने एसिसीले प्रस्ताव गरेको छ। यो प्रतियोगिता मलेसियामा हुनेछ। जसमा थाइल्यान्ड, युएई, इन्डोनेसिया, नेपाल, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले भाग लिनेछन्। 

विजेता र उपविजेता टिम जुलाईमा हुने वुमन्स एसिया कप २०२४ का लागि छनोट हुनेछन्। यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले सन् २०२५ मा हुने वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!