गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक

Posted on: 02 Jan, 2024

पुस १७, भरतपुर | भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।


महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा पनि सो क्रममा गरिन् ।

भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए । राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे । 

भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधि सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए। राजदूत पाथिराना सोमबार नै रंगशालाको अवलोकन गरेका छन् । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!