दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मंगलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । सघन उपचार कक्षमा उनको सुधार भइरहेको डेमोक्रेटिक पार्टीले जनाएको छ । 

पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले पत्रकार सम्मेलनमा बताए । लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको जानकारी दिएका छन् । उनका अनुसार सोलमा लीको दुई घन्टासम्म शल्यक्रिया गरिएको थियो । 'घाँटीको गलाको आन्तरिक नसामा क्षति पुगेको पुष्टि भएको छ,' उनले भने, 'शल्यक्रियापछि ली होशमा हुनुहुन्थ्यो, हाल आईसीयूमा भर्ना हुनुभएको छ र सुधार भइरहेको छ ।'


आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रहरी अधिकारी सोनका अनुसार ६० वर्षीय आक्रमणकारीले १३ सेन्टिमिटर लामो ब्लेड भएको १८ सेन्टिमिटर छुरा प्रयोग गर्दथे र यसलाई उनले अनलाइनमा खरिद गरेका थिए ।

दक्षिण कोरियाली टेलिभिजन स्टेसनहरूमा प्रसारित फुटेजमा प्रहरीले संदिग्ध व्यक्तिलाई भुइँमा लडाएको देखिएको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणकारीविरुद्ध हत्या प्रयासको अभियोग लगाउने योजना बनाएका छन् । आक्रमणकारीले आफ्नो मनसाय लीलाई मार्ने रहेको प्रहरीलाई बताएको योनहापले उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय राजनीतिज्ञ ली पत्रकारहरूसँग कुरा गर्दै आफ्नो कारतर्फ जाँदै गर्दा आक्रमणकारीले उहाँसँग अटोग्राफ मागेका थिए । टेलिभिजन फुटेजमा ली भुइँमा लड्दै गरेके र मानिसहरू उहाँलाई सहयोग गर्न दौडिरहेको देखाइएको छ ।

पछिल्ला वर्षहरूमा कैयौँ उच्च प्रोफाइलका दक्षिण कोरियाली राजनीतिज्ञमाथि सार्वजनिकरूपमा हमला भएका छन् । सन् २०२२ मा लीभन्दा अघि डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने सङ यङ–गिलको टाउकामा एक वृद्ध व्यक्तिले केही वस्तुले हमला गरेका थिए ।

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता पार्क ग्युन–हेमाथि एक र्‍यालीमा चक्कु प्रहार गरिएको थियो । हमलामा उनको अनुहारमा दाग बसेको छ । पछि उनी दक्षिण कोरियाका राष्ट्रपतिसमेत बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!