युरोपका ४० हजारभन्दा बढी मागपत्र प्रमाणीकरणको बाटो खुल्यो

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | वैदेशिक रोजगारीका लागि आएका माग पत्रहरू प्रमाणीकरणको बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर लागू गरेसँगै माग पत्र प्रमाणीकरणको बाटो खुलेको हो । योसँगै युरोप लगायतका विभिन्न देशका लागि आएका माग पत्रहरू प्रमाणीकरण हुनेछन् ।

मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० स्वीकृति गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृति गरिएको हो ।

वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व स्वीकृतिको लागि पेश हुने माग पत्रको आधिकारिकताको सम्बन्धमा १५ दिनभित्रमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिसमा गर्नुपर्ने प्रावधान ‘वैदेशिक रोजगार ऐन २०६४’ मा छ । त्यही आधारमा ‘माग पत्र जाँचबुझ निर्देशिका २०७५’ मा आवश्यक संशोधन गरिएको थियो । संशोधन गरेर राय सुझावका लागि २७ चैत २०७९ मा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पेश गरेको थियो । तर, परराष्ट्रले हालसम्म पनि आवश्यक राय सुझाव नदिएपछि श्रम मन्त्रालयले कार्यविधि बनाएको हो ।

कार्यविधि बनाएसँगै युरोपका लागि रोकिएका ४० हजार भन्दा बढी डिमान्ड प्रमाणीकरणको बाटो खुलेको छ । श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले सम्बन्धित मन्त्रालयबाट राय सुझाव नआएपछि कार्यविधि बनाएर स्वीकृति गरिएको बताए । स्वीकृति गरिएसँगै रोकिएका माग पत्र प्रमाणीकरणको बाटो खुलेको उनको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!