सर्लाहीको बरहथवामा सोमबार शोक बिदा

Posted on: 08 Jan, 2024

पुस २३, काठमाडौँ | प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले सोमबार शोक बिदा दिएको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको उल्लेख छ । सार्वजनिक सूचनामा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदनासहित मृतक साहको चिरशान्तीको कामना समेत गरिएको छ ।

बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार राति मात्र घटनास्थलबाट उठाएर पोष्टमार्टम गरेपछि परिवारले बुझेका थिए । मृतक साहको शव नगर परिक्रमा गरि अन्त्येष्टिका लागि वाग्मति खोलामा लगिएको छ । बरहथवाको अवस्था आज चौथो दिन समान्य बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!