रुसी सेनामा भर्ती हुनेका परिवारलाई नै रुसको नागरिकता दिने पुटिनको आदेशले नेपालमाथि थपियो चुनौती

Posted on: 08 Jan, 2024

पुस २३, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए ।

रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ ।


रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । यही बेला पुटिनले नेपालीसहित विदेशी नागरिकलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका हुन् ।

लुकीछिपी रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई रोक्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । पुटिनको नयाँ आदेशले नेपाल सरकार थप अप्ठेरोमा परेको छ ।

पुटिनले रुसी सशस्त्र बल र अरू सैन्य संरचनामा भर्ती हुने विदेशी र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट दिने आदेश जारी गरेका हुन् । रुसी सेनामा विदेशीको संख्या बढाउन र युक्रेनसँगको युद्धमा पठाउन रुसी राष्ट्रपतिले नयाँ रणनीति अपनाएका हुन् ।

रुसी सेनामा भर्ती भएका मध्ये १० नेपाली युवा युक्रेनसँगको युद्धमा मारिइसकेका छन् । रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा नियन्त्रणमा लिई युक्रेनले बन्दी बनाएर राखेको छ । करिब डेढ सय नेपाली परिवारले रुसी सेनामा भर्ती भएका आफ्ना छोरा तथा श्रीमान्लाई फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आवेदन दिएका छन् ।

विभिन्न बहानामा रुस जानेहरू त्यहाँको सेनामा भर्ती हुने गरेको सूचना पाएपछि सरकारले कडाइ गरेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बिना रुस जान नपाउने नियम सरकारले बनाएको छ । त्यति मात्र होइन, सरकारले रुस र युक्रेन जानेलाई दिँदै आएको श्रम स्वीकृति समते रोकेको छ ।

यसअघि, रुसी सेनामा भर्ती भएको एक वर्ष पुगेपछि मात्र विदेशीलाई त्यहाँको नागरिकता दिने प्रक्रिया अघि बढाइन्थ्यो । पुटिनले जारी गरेको नयाँ आदेशमा भने रुसी सेनामा काम गर्छु भनी एक वर्षको सम्झौता गर्ने विदेशीलाई सुरुमै त्यहाँको नागरिकता दिने प्रावधान राखिएको छ । त्यति मात्र होइन, सेनामा भर्ती हुने विदेशी नागरिकको परिवारले पनि सुरुमै रुसी नागरिकता पाउने व्यवस्था छ ।

रुसी सेनामा कति नेपाली छन्, नेपालसँग यकिन तथ्यांक छैन । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्तीको औपचारिक जानकारी प्राप्त भएको बताएका थिए । तर, उनको भनाइलाई पुष्टि गर्ने आधार केही छैन ।

रुसी सेनामा भर्ती भएका केही नेपालीको भनाइलाई आधार मान्दा त्यहाँको सेनामा ठूलो संख्यामा नेपाली आबद्ध भइसकेका छन् । यो संख्या हजारभन्दा माथि छ ।

पुटिनको नयाँ आदेशले सेनामा भर्ती हुनेलाई मात्र होइन, परिवारलाई नै रुसी नागरिकता दिने व्यवस्था गरेपछि यसले नेपाली थप आकर्षित गर्ने र एजेन्ट तथा दलाल पनि अझ सल्बलाउने बुझाइ धेरैको छ ।

“सुरुमै परिवार नै लान पाउने भएपछि यसले थुप्रै नेपालीलाई आकर्षित गर्न सक्ने हाम्रो अनुमान छ । यसलाई जसरी पनि रोक्नुपर्छ । नत्र यसले पछि ठूलै संकट ल्याउँछ,” रुसको मस्कोस्थित नेपाली दूतावासका एक अधिकारीले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!