चितवन हत्या प्रकरण : सम्बन्धमा शंका गरेर पत्नी र भतिजको हत्या

Posted on: 09 Jan, 2024

पुस २४, काठमाडौँ |  चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकहरुको हत्या ३३ वर्षीय अखिलेश भगतले गरेको खुलेको छ।

 गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए । केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको एक महिला र एक पुरुषको शव पहिचान गर्न प्रहरीलाई सकस पर्‍यो । सुरुमा उनीहरूको हुलिया सार्वजनिक गरेको प्रहरीले त्यसको केही दिनपछि अनुहारको स्केच तयार गरी सार्वजनिक गर्‍यो ।


ती स्केच देशभरका प्रहरी निकायमा पठाइयो । तर नेपालमा कहीँकतैबाट आफन्त हराएको खबर नआएपछि प्रहरीले मृतकहरू भारतका हुनसक्ने भन्दै भारतीय प्रहरीसँग सम्पर्क गरिएको थियो । अन्ततः मृतक दुवै जना भारतका भएको र हत्यामा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै भएको पत्ता लाग्यो ।

डेढ महिनापछि प्रहरीले निकालेको निष्कर्ष छ- हत्या भएकाहरू भारत मोतिहारी फूलवारी सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत विहार सुगांव डीह, सुगौली पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी हुन् । उनीहरू दुवैको हत्या सन्जुदेवीका श्रीमान ३३ वर्षीय अखिलेश भगतले गरेका थिए । अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन् ।

अखिलेशकी श्रीमती सन्जु र भतिज ऋषभ तरकारी र फलफूलको व्यापारका लागि नेपाल आउने-जाने गरिरहन्थे । उनीहरु अन्तिम पटक दशैंको बेला चितवन आएका थिए । उनीहरु भरतपुर बसपार्कको मिलनचोक नजिकै कोठा भाडामा लिएर बसेका थिए ।

अखिलेशले आफ्नी ३० वर्षीया श्रीमती सन्जु र १९ वर्षीय भतिज ऋषभबीच प्रेम सम्बन्ध रहेको शंका गर्दथे । यो विषयमा उनीहरुबीच बेला-बेला झगडा पनि हुने गरेको थियो । यही क्रममा गत मंसिर २ गते अखिलेशले श्रीमती र भतिजको डेरामै हत्या गरे । त्यसपछि दुई वटा शवलाई दुई वटा अलग-अलग बोरामा प्याक गरे । अनि मंसिर ३ गते साइकलमा लोड गरेर डेरा कोठादेखि करिब ५ सय मिटर टाढा भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पर्ने मिलनचोकको कल्भर्ट मुनि लगेर फ्याँके ।

मंसिर ६ गते बोराभित्र शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा बोराभित्र शव थिए । दुवै शव हातखुट्टा क्रस गरेर बाँधेको, मुखमा टेप लगाइदिएको र घाँटीमा सलजस्तो कपडाले कसेको अवस्थामा थिए ।

शव उठाएर भरतपुरको सरकारी अस्पतालमा ल्याएर राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा ती शव नेपालीकै हुन सक्ने अनुमान प्रहरीले गरेको थियो । तर मृतकका आफन्त कोही पत्ता लागेनन् । त्यसपछि चितवन प्रहरीले सबै प्रहरी युनिटमा मृतकको स्केच सार्वजनिक गरेर पहिचानका लागि सहयोग मागेको थियो ।

त्यसपछि पनि शवको सनाखत भएन । अनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय र चितवन जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

सीसीटीभी फुटेजबाट पत्ता लागेको क्लु

प्रहरीले सीसीटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । फुटेजमा सन्जु र ऋषभको डेरा नजिकको सडकबाट मंसिर ३ गते एक व्यक्ति राति १२ बजेर ४५ मिनेट जाँदा साइकलमा बोरा लोड गरेर हिँडेको थियो । सोही व्यक्ति फेरि राति राति १ बजेर १२ मिनेट जाँदा फेरि पनि साइकलमा बोरा लोड गरेर हिँडेको देखियो ।

त्यही फुटेजको आधारमा अनुसन्धान तीव्र पारेको सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो । अन्ततः मृतकको पहिचान पनि भयो र हत्यामा संलग्न व्यक्ति पनि पत्ता लाग्यो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंसिर २ गते श्रीमती र भतिजको हत्या गरेका अखिलेश मंसिर १६ गते भारत भागेका थिए ।

प्रहरीका अनुसार अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता थियो । त्यो उनी पुस १६ गते भारतमै पक्राउ परेका थिए ।

अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन् । उनीसँग बयान लिन नेपाल प्रहरीका एकजना डीएसपी नेतृत्वको टोली मोतीहारी नै पुगेर बयान लिएको थियो । वयानको क्रममा उनले श्रीमती र भतिजको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रवक्ता अधिकारीले बताए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!