चक्रवर्ती कलेजका सञ्चालकमाथि छोराद्वारा चक्कु प्रहार, २४ जना पक्राउ

Posted on: 09 Jan, 2024

पुस २४, काठमाडौँ | काठमाडौंको चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि चक्कु प्रहार गरेको आरोपमा उनका छोरा निरज भण्डारीसहित २४ जना पक्राउ परेका छन्। छोरा निरजसहितको समूहले सोमबार राति देवेन्द्रमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।


चक्रवर्ती कलेजको स्वामित्वको विषयलाई लिएर भण्डारीका बाबु–छोराबीच लामो समयदेखि विवाद रहँदै आएको छ। सोमबार राति देवेन्द्रले कलेज प्रवेश गर्न खोज्दा छोरा निरजसहितको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आक्रमणमा देवेन्द्र र चितवन घर भइ काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन्। भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

छोराले कलेजको स्वामित्व दाबी गर्दै आएको सन्दर्भमा छलफल गर्न देवेन्द्र सोमबार दिउँसो प्रहरीकहाँ समेत पुगेका थिए। राति उनी कलेज प्रवेश गर्न खोज्दा झडप भएको बताइएको छ। 

देवेन्द्र पनि आफ्नो समूह लिएर कलेज पुगेका थिए। उनका छोरा निरज पनि समूहसहित कलेज भित्र थिए। देवेन्द्रले कलेज भित्र प्रवेश गर्न खोज्दा निरजको समूह प्रतिकारमा उत्रिएको थियो। जसक्रममा निरजले नै चक्कु प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले निरजसहित २४ जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!