चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी सैनिकलाई जेल सजाय

Posted on: 09 Jan, 2024

पुस २४, काठमाडौँ | चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको स्वीकार गरेका अमेरिकी नौसेनाका एक सैनिकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । २६ वर्षीय वेनहेङ जाओले गत अक्टोबरमा घूसको बदलामा चिनियाँ गुप्तचर संस्थालाई सूचना चुहाएको स्वीकार गरेका थिए ।

झाओ क्यालिफोर्नियाको नौसेनाको बेसमा पेटी अफिसरका रूपमा कार्यरत थिए । अमेरिकी अधिकारीहरूका उनले सन् २०२१ देखि २०२३ को बिचमा चीनलाई अमेरिकी सेनाको सैन्य अभ्यास, आन्तरिक निर्देशन र भौतिक पूर्वाधारको बारेमा सूचना दिएका थिए ।


उनले विशेष रूपमा इन्डो प्यासेफिक क्षेत्रमा अमेरिकी नौसेनाले गर्ने सैन्य अभ्यासको बारेमा जानकारी चुहाएका थिए । त्यस्तै, उनले जापानको ओकिनावा टापुमा रहेको अमेरिकी सैन्य बेसको राडार सिस्टमको बारेमा पनि सूचना चिनियाँ पक्षलाई दिएका थिए ।

ओकिनावामा रहेको अमेरिकी सैन्य बेसलाई एसिया क्षेत्रमा अमेरिकी अप्रेसनका लागि संवेदनशील मानिन्छ । पछिल्ला वर्षहरूमा अमेरिकाले इन्डो प्यासेफिक क्षेत्रलाई सुरक्षाको मुख्य प्राथमिकतामा राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!