अबको युद्ध विराममा विपिन जोशीको रिहाइका लागि ठोस पहल गर्ने कतारको प्रतिबद्धता

Posted on: 09 Jan, 2024

पुस २४, काठमाडौँ | गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि ठोस पहल गर्ने कतारले प्रतिबद्धता जनाएको छ । गत ७ अक्टोबर २०२३ मा इजरायलबाट हमास समूहले नियन्त्रणमा लिएका जोशीको अवस्था अझै अज्ञात नै छ ।

उनको रिहाइका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिरहेको छ । तर, ठोस निष्कर्ष भने निस्किन सकेको छैन । उनलाई नियन्त्रणमा लिएको तीन महिना पुरा भइसकेको छ । उनको रिहाइका लागि सरकारले इजरायलसँगै कतार तथा इजिप्ट सरकारसँग समेत पहल गरिरहेको छ ।


कतार सरकारसँग पटक पटक छलफल भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित नगरस्तरीय १४ औं  राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री साउदले विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग पटक पटक छलफल भइरहेको बताए ।

छलफलको क्रममा कतारले दोस्रो चरणको युद्ध विरामको तयारी भइरहेको र उक्त समयमा जोशीका रिहाइका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको मन्त्री साउदले बताए ।

‘विपिन भाइको रिहाइका लागि लगातार कतार सरकारसँग लगातार छलफल भइरहेको छ । कतारले दोस्रो युद्ध विरामको लागि छलफल चलाइरहेको छ । गृहकार्य भइरहेको छ । युद्ध विराममा जोशीको रिहाइका लागि कतारबाट ठोस पहल गर्ने आश्वासन आएको छ’ मन्त्री साउदले भने ।

अर्न एण्ड लर्न कार्यक्रमका लागि इजरायल पुगेका जोशीसहित नेपालीमाथि हमास समूहले आक्रमण गरेको थियो । आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका थिए ।

जोशीसहित विभिन्न देशका नागरिकहरूलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो ।

केही समयपछि इजरायली सेनाले गाजामा उनी सुरक्षित रहेको जानकारी नेपाली पक्षलाई दिएको थियो । तर, उनको अवस्था भने अहिलेसम्म पनि अज्ञात नै छ । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत गुहार्दै आएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!