इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै कतारबाट समातिए १९ वर्षीय किरण

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौँ | जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् ।  फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै कतारबाट पक्राउ परेका हुन् । 


एनसिबि दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।  राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!