चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

उनले दुग्धजन्य पदार्थ बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए। संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको उनको भनाइ थियो।

उनले चैतभित्रमा किसानहरुको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको जानकारी दिए। उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिंचाई सुविधा पुर्‍याउन आवश्यक रहेको बताए। उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए। 

उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालीमा सिंचाई हुने गरेको बताए। 

मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदि प्रणाली जोड्नुको विकल्प नभएको बताए। नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने उनले दाबी गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!