सन्दीपका वकिलले भने– सन्दिप दोषी होइन, माथिल्लो अदालतमा च्यालेन्ज गर्छौं

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज घिमिरेले फैसलाप्रति आफ्नाे पक्ष असन्तुष्ट रहेको बताए ।

जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको तर्क गरे । न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको उनको भनाइ थियो ।


सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले मात्रै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको घिमिरेले स्पष्ट पारेका छन् ।

घिमिरेको भनाइ यसप्रकार छः

‘हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्छौं । र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ । हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र, त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ । फैसलालाई च्यालेन्ज गर्ने हाम्रो अधिकारको उपयोग गर्नेछौं ।

कुनै पनि वस्तुगत आधार, प्रमाणहरुले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी करार भएको अवस्था छ । यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो । त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ । हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं ।

हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । सन्दिप लामिछाने आफैंले आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् । तर अदालतले दिएको आदेश फेरी हामीले मान्नुपनि पर्नेहुन्छ । त्यसलाई अन्यथा भन्नका लागि हामी उच्च अदालत गएर नै दाबी गर्छौ । दोषी भएको कुरामा हामीलाई विश्वास भएन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!