विश्वकै शक्तिशाली पासपोर्टको सूची सार्वजनिक, नेपाल कति स्थानमा ?

Posted on: 11 Jan, 2024

पुस २६, काठमाडौँ | सन् २०२४ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सले शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो । फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको छ ।

पहिलो स्थानमा परेका यी देशका नागरिकलाई १९७ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ ।

दोस्रो शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, साउथ कोरिया र स्विडेन परेको छ । यी देशलाई १९३ देशमा भिसा अनअराइभलको सुविधा छ । तेस्रो स्थानमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड परेको छ ।


विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ ।  नेपालसँगै लिबिया र प्यालेस्टाइनको पासपोर्ट ९८ औ सूचीमा छ । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ। दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।

८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!