उच्च अदालत जान जिल्ला अदालत फैसलाको पूर्णपाठ कुर्दै सन्दीप

Posted on: 12 Jan, 2024

पुस २७, काठमाडौं | बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछाने जिल्ला फैसलाविरुद्ध उच्च अदालत जाँदै छन्। 

जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो। त्योसँगै अदालतले पीडित गौशालाको मानसिक अवस्थालाई ध्यानमा राखेर उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन भनेको छ। क्षतिपूर्तिबापत लामिछानेले अदालतले जरिवाना तोकेको ३ लाखमा २ लाख थपेर गौशालालाई ५ लाख रुपैयाँ दिनुपर्ने बताएको थियो।

लामिछाने दोषी नदेखिँदा पनि जिल्ला अदालते उनलाई दोषी ठहर गरेको भन्दै आफूहरू उच्च अदालत पाटन जान लागेको लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। 

घिमिरेले आफूहरू उच्च अदालत जान जिल्ला अदालतको फैसलाको पूर्णपाठ कुरिरहेको बताए। घिमिरेले भने,'जिल्ला अदालत काठमाडौँको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाँदै छौँ। अहिले जिल्ला अदालतको फैसलाको पूर्णपाठ कुरिरहेका छौँ। अदालतले एक महिनासम्ममा पूर्णपाठ आउँछ होला त्यसपछि लगतै हामी उच्च अदालत जाँदै छौँ।'

तत्कालीन समयमा नेपाली क्रिकेट टोलीका कप्तान रहेका लामिछानेविरुद्ध प्रहरी वृत्त गौशाला (काठमाडौं) मा जाहेरी दर्ता भएको थियो।

विदेशमा क्रिकेट खेल्न गएका लामिछाने २०७९ असोज २० गते स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परी तीन महिना हिरासतमै बसेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले लामिछानेमाथि लागेका आरोप विषयमा अनुसन्धान सकेर २०७९ कात्तिक ४ गते प्रतिवेदन बुझाएको थियो।

२०७९ भदौको तेस्रो साता पीडित किशोरीका दाजुले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएका थिए। जाहेरीमा भदौ ५ गते किशोरीलाई घुम्ने बहानामा नगरकोट लगेको र जानाजान रात पारी काठमाडौँको सिनामंगलस्थित एक होटलमा पुर्‍याई अनुमतिबिना नशामा लठ्याएर दुईपटक बलात्कार गरेको आरोपमा भनिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!