कांग्रेसका नेता आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै

Posted on: 14 Jan, 2024

पुस २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो ।

यस मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाब समेत दिएको थियो ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनताका रौतहटको साविक राजपुर फरहदवा गाबिस– ४ मा निर्वाचन जित्न विस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।

आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको उनीमाथि आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!