अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ

Posted on: 14 Jan, 2024

पुस २९, मकवानपुर | मकवानपुरमा अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तुसहित ५ जनालाई गए राति पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका- ३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २०‍ वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका-७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!