माघ ३, काठमाडौं | काठमाडौँमा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली रक्सी उत्पादन गरी कालोबजारी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गुणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए । प्रहरीले यसमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की र रामेछापका २० वर्षीय मनिष खत्री रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो ।
सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारेको प्रहरीको भनाई छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।