माघ ८, काठमाडौं | मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरूले बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुखमाथि मोसो दलेका छन्।
उनीहरूले आइतबार बिहान करिब १० बजे बडिगाड गाउँपालिका खालास्थित मध्यपहाडी लोकमार्गमा स्वास्थ्य प्रमुख विपेन्द्र केसीमाथि मोसो दलेका हुन्।

ध १ ब ४२८ नम्बरको मोटरसाइकलमा सवार केसीमाथि वैद्यनिकट पार्टीका कार्यकर्ताहरूले मोसो दलेका थिए। केसी कार्यालय जाँदै गर्दा सडकमै रोकेर उनीहरूले मोसो दलेका थिए।
केसीमाथि मोसो दलेको घटनाको जिम्मा बागलुङ जिल्ला समितिका इन्चार्ज अजनवी र संयोजक प्रविणले विज्ञप्ति जारी गर्दै लिएका छन्।
घटनापछि प्रहरीले मोसो दल्ने व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए।
‘गाउँपालिका स्वास्थ्य प्रमुख होइन? भनेर सोधेछन्। हो भनेपछि मोसो दलेका रहेछन्,’ उनले भने, ‘भिडिओ पनि आएको छ। हामीले यसमा संलग्नको खोजी गरिरहेका छौं।’
पार्टीको तर्फबाट जारी भएको विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुख केसीले मिलोमतो गरेर म्याद सकिएको औषधि खरिद गरी कमिसनको खेलमा लागेको आरोप छ।
औषधि खरिदमा आर्थिक दुरूपयोग गरी जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप छ।
‘आर्थिक चलखेल, सत्ताको दुरूपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवानलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य हुने छैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै आगामि दिनमा यस्ता गतिविधि नसच्चिएमा थप संघर्षका कार्यक्रम बढाउन बाध्य हुने छौं र त्यसको जिम्मेवारी स्वयंम हुनुपर्ने छ।’